संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ।
रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए। विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन्।
युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्नेसम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो।
राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन्। यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो। परिषद्मा ४७ देश सदस्य छन्।
यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए। तर, सुरक्षा परिषद्मा नेपाल छैन। सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन्।
राष्ट्रसंघमा रहेका १९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए। त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आह्वान गर्ने निर्णयलाई रोक्न सकेन। शान्तिका निम्ति भन्ने धारणासहित विशेषसभाको आयोजना गरिएको थियो।









