शंखरापुरमा होली खेल्ने क्रममा पानी ठानेर एसिड दलेपछि ५ जना घाइते

रमिता दंगाल

१६ चैत्र, काठमाण्डौ। हिजो होलीको अवसरमा काठमाण्डौको शंखरापुरमा अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका वडा नं स्थित नविन ग्राम शिक्षा मन्दिर मा.वि.को क्यान्टिन नजिकै संचालन भैरहेको दुग्ध डेरी बाहिर राखिएको एसिड घोलेर होली खेल्ने क्रममा सोहो विद्यालयका ३ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् भने घाइते मध्ये २ जना जहरसिंह पौवा-फ़ट्केश्वर सडक खण्ड निर्माणका कामदार काभ्रे दोलालघाटका पवन पहरी र आकाश तामाङ रहेका छन्।

डेरी सञ्चालनका क्रममा प्रयोग भएको एसिड चलाउँदा पाँचजना घाइते भएका हुन् ।विद्यालयले भाडामा उपलब्ध गराएको स्थानमा बाहिर लापरबाही ढंगले एसिड राख्दा सोहि विद्यालयका विद्यार्थीहरुले होली खेल्ने पानी भनेर आपसमा खेलका हुन्।

बालबालिकाले एसिडलाई पानी भनेर दलेको प्रहरी कार्यालय नाङ्गलेभारेका सई गणेश श्रेष्ठले बताए। उनका अनुसार प्रयोग भइसकेको एसिड बालबालिकाले होली खेल्दै जाने क्रममा अन्जानमा एकअर्कालाई दलेका हुन्।

एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता तामाङ र ११ वर्षका सविन तामाङको साँखुस्थित शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ९ वर्षका विशाल तामाङ उपचारपछि घर फर्केका छन्।

पानी भनेर एसिडमा रंग घोलेर लगाइदिने पवन पहरी र आकाश तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ।एसिडका कारण उनीहरुको पनि हात जलेको प्रहरीले जनाएको छ। डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएर बौद्धमा राखिएको प्रहरीले जनाएको छ।

[sidebar name="button post"]