Ad #144479

७ माघ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् ।

सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका हुन् ।

 समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् ।

जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागीता जनाएनन्। आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्।डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै ‘आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन्।’