Ad #144479

कविता चापागाईं

‘भजन गाउने ओठहरु भन्दा सहयोग गर्ने हातहरु पवित्र हुन्छन्’ यस्तै पवित्र मनकी धनी हुनुहुन्छ सुशिला खतिवडा । उहाँ भन्नुहुन्छ,‘पढाइले मानिसलाई किताबी ज्ञान मात्र दिलाउछ, जीवनको यर्थाथलाई भित्रैदेखि नियाल्ने हो भने हात फैलाएर मनैदेखि सबैलाई सहयोग गर्नुपर्छ ।’ जीवनमा केहि नयाँ कामको सुरुवात गर्नुपर्छ ।

अनि मात्र जिवनको यथार्थलाई बुझ्न सकिन्छ । यस्तै सोंच लिएर समाजलाई परिवर्तन गर्ने उद्देश्य बोकेर अघि बढ्नु भएको छ खतिवडा । घर घरमा शिक्षाको ज्योति पुर्याउने र महिलाहरुलाई शिक्षाबाट बञ्चित गर्नुहुँदैन भनेर दिनदुखीको माझमा रहेर उहाँले आवाज बुलन्द पार्दै आउनुभएको छ ।

सुशिला खतिवडाको विगत

विस २०४० साल फाल्गुन २० गते पिता हरिश्चन्द्र र माता लक्ष्मी खतिवडाको कोखबाट पहिलो सन्तानको रुपमा धादिङको तत्कालिन कल्लेरी गाविस वडा न.६ मा जन्मिनुभएको हो । उहाँका एक जना बहिनी र दुई भाइहरु छन् । खान लगाउन पुग्ने तर सामान्य परिवारमा हुर्किएकी उहाँलाई घरको जेठो सन्तान भएकाले अलि धेरै कामको बोझ थियो । उहाँले भाई बहिनी हेरेर बिहान बेलुकाको काम गरेर विद्यालय जानुपथ्र्यो ।

बुबा शिक्षक भएकाले काम सँगसँगै पढाईमा भने हौसला, जोस जाँगर भरिदिनु हुन्थ्यो । खतिवडा भन्नुहुन्छ,‘पढाईमा कुनै रोक छेक भएन अनि विवाहपछि पनि श्रीमान्को साथ सहयोग भयो ।’ उहाँ अहिले काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा बस्नुहुन्छ । उहाँका साथमा एक छोरा र श्रीमान् पनि हुनुहुन्छ ।

स्कुल कलेजको यात्रा

पहिलेदेखि नै बुबा शिक्षक भएको हुँदा पढ्ने लेख्ने काममा उहाँलाई कुनै रोकतोक भएन । धादिङबाटै एसएलसी पास गरेर क्याम्पस पढ्न काठमाण्डौ आउनुभयो । गाउँबाट सहरमा पढ्न आउनलाई त्यति सजिलो थिएन, परिवारसँग बस्नुभएको खतिवडालाई सहरमा घुलमिल हुन निकै गाह्रो पर्याे ।

यसरी नै उहाँले एघार र बाह्र पाटन क्याम्पसबाट पुरा गर्नुभयो । त्यसपछि स्नातक पढ्ने बेलामा विवाह भयो । विवाह रामेछापमा भएपनि बसाई काठमाण्डौमा भएको हुनाले पढाइमा सहज नै भयो । विवाह पश्चात कतिपय महिलाको शिक्षामा पुर्णबिराम लाग्छ तर खतिवडालाई भने झनै हौसला र प्रोत्साहन मिल्यो ।

जसकारण उहाँले स्नातक त्रिचन्द्र क्याम्पसबाट सक्नुभयो । सानैदेखि सामाजिक कार्य सँगै राजनीतिक क्षेत्रमा पनि चाहना भएकी खतिवडाले क्याम्पस पढ्दै गर्दा देश र जनताको हितमा आवाज समेत उठाउने गर्नुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर समेत पुरा गर्नुभयो । ‘जहाँ ईच्छा त्यहाँ उपाय’ भने झै पढाईमा रुचि भएकै कारण उहाँले ३ वर्षे एलएलवीको परिक्षा समेत दिनुभएको छ ।

सामाजिक कार्य गर्न मिलेको प्रेरणा

बुवा शिक्षक अनि गाउँमा सामाजिक काममा लागेको हुँनाले पनि खतिवडालाइ हौसला मिल्यो । आफ्नो बुबाले गाउँका हरेक समस्याहरु समाधान गर्दै आएको र बुबाले हरेक चोटी आफ्नो लागि भन्दा पनि अरुको लागि काम गर्न सक्नुपर्छ भन्ने खालका ज्ञानगुनका कुराहरु दिईरहनु हुन्थ्यो, जुन कुराले उहाँको मनमा पनि अनेक खालका सोंचहरु आउँथे । बुबाले गरेको काम देख्दा आफुलाई पनि गर्न मन लाग्थ्यो ।

हुन त स्कुल पढ्दा देखि नै साथीहरुको बिचमा बहस गर्ने, साथीहरुलाई एकिकृत गर्न खोज्ने, सामाजिक कामहरुमा विद्यार्थीको तर्फबाट गर्नुपर्ने कामहरु गर्नुपर्छ भन्ने भावना उहाँमा थियो । काठमाण्डौमा कलेज पढ्ने समयताका माक्र्सवादका कुराहरु पढ्ने अवसर पनि उहाँलाई मिल्यो ।

त्यो बाट पनि सामाजिक कार्य गर्न झन् बढि प्रेरणा जाग्यो । भनिन्छ नी ‘संगत गुनाको फल’ त्यस्तै भयो खतिवडालाई उहाँ भन्नुहुन्छ,‘मैले यस काम बुबाबाटै प्रेरित भएर उहाँले गरेको देखेर नै सुरु गरेको हो, म यहाँसम्म आईपुग्नुमा मेरो बुबाको ठुलो देन छ ।’

सामाजिक तथा राजनीतिक क्षेत्र

सामाजिक र राजनीतिक हरेक क्षेत्रबाट समाजको लागि काम गर्दै आएकी समाजसेवी सुशिला खतिवडाले विभिन्न सघंसंस्था र समुहमा बसेर काम गर्दै आउनुभएको छ । उहाँले सबै भन्दा पहिला शैक्षिक परिवर्तन त्यसमा पनि महिलाहरुको हक हितको लागि काम गर्न थाल्नुभएको हो । उहाँ भन्नुहुन्छ,‘प्रत्येक घरलाई शिक्षामा उज्यालो बनाउनु पर्छ ।’

कागेश्वरी मनोहरा नगरपालिकाका महिलाहरुको जिवन स्तर उकास्ने मनोकांक्षाले नगर जागरण गृहणी वैकल्पिक विद्यालयमा प्रध्यानाध्यापकको भुमिका निभाउदै आउनुभएको छ । जहाँ १६ देखि ७० वर्ष सम्मका महिलाहरु पढ्न आउने गर्छन् । घरघर बाट नै समाजलाई परिवर्तन गर्नुपर्छ र त्यो परिवर्तन गर्ने सबै भन्दा ठुलो सक्ति शिक्षा हो भनेर लागेकी उहाँले शिक्षालाई नै केन्द्रित गरेर अगाडी बढ्नुभएको छ ।

कामहरु

कागेश्वरी मनोहरा नगरपालिका घोषणा हुनु भन्दा अगाडिदेखि नै गाविससँग समन्वय गरेर महिलाहरुलाई ब्युटिर्पालर, सिलाई बुनाई र विभिन्न सचेतनामुलक कार्यक्रहरु गाविसबाट बजेट हाल्न लगााएर गर्नुभयो । संयुक्तशिल महिला समुहमा आफै अध्यक्ष भएर थुप्रै सहयोगी काम गर्नुभएको छ । समाजको लागि कहाँ के गर्नुपर्छ हरबखत उहाँ उपस्थित भएर समाधान निकाल्ने गर्नुहुन्छ । गाउँ टोलमा जे परे पनि सबै उहाँलाई नै सम्झिन्छन् ।

कागेश्वरीको ९ नम्बर वडामा शिक्षा समितिमा रहेर पनि काम गर्दै आउनुभएको छ । वडामा विद्यालयको अवस्था के छ ? कस्ता समस्याहरु छन ? नेपाल सरकारबाट आएका बजेटहरु कसरी परिचालन भएका छन् ? भन्ने कुराहरु अध्यायन गर्दै आउनुभएको छ । त्यस्तै, काठमाडौको क्षेत्र नं २ मा समानुपातिक सांसद सरिता न्यौपानेको स्वकीय सचिवको रुपमा रहेर विभिन्न सघंसस्था मार्फत् सेवा पुर्याउदै आउनुभएको छ ।

काठमाडौको क्षेत्र नम्बर २ मा रहेको २० वटा वडाहरुमा अखिल नेपाल महिला सघंको अध्यक्ष भएर पनि काम गर्नुभएको छ । यो दौरानमा पनि महानगरको ९ नम्बर वडामा भएका घटनाहरु, शङखरापुर नगरपालिकामा भएका घटनाहरु र कागेश्वरीमा भएका घटनाहरुलाई विभिन्न समयमा उपस्थिति भएर आफ्नो भुमिका निभाउँदै आउनु भएको छ ।

यति मात्र नभएर २०५६ सालमा दर्ता भएको मदनभण्डारी फाउण्डेशन, जसको ७५ वटै जिल्लामा शाखाहरु रहेका छन्, जस मध्ये कागेश्वरी मनोहरा नगरपालिकामा पनि एउटा शाखा रहेको छ, त्यहाँ फाउण्डेशनको सचिवको रुपमा भुमिकामा हुनुहुन्छ । यस फाउण्डेशन मार्फत् रक्तदान कार्यक्रम, वृक्षरोपण, वादविवाद प्रतियोगिता, दिवस केन्द्रित कार्यक्रम लगाएत विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गर्छन् । यस फाउण्डेशनमा करिब २ वर्ष देखि आवद्ध हुनुहुन्छ ।

दुःखहरु

कुनै पनि काम गर्न सजिलो हुदैन । सहज मानेर गर्नु नै ठुलो कुरा हो । हरेक काममा बाधाहरु उत्पन्न भईरहेका हुन्छन् । समाजसेवी खतिवडालाई पनि विभिन्न बाधाहरु आईपरेका थिए । उहाँ ती बाधाहरु पनि सुनाउनुहुन्छ,‘स्कुल स्थापना गर्ने क्रममा धेरै व्यक्तिहरुले भाँजो हाल्ने काम गरे, पुरुषहरु जति नै शिक्षित भए पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा कहिँ न कहिँ फरक नै हुन्छ ।

पढेलेखेका युवाहरुले पनि मन दुख्ने खालका कुराहरु सुनाउथेँ, उहाँहरु भन्नुहुन्थ्यो किन यस्ता व्यक्तिहरुलाई अगाडि बढाउन चाहनुहुन्छ, किन आफै तल झर्ने काम गर्नुहुन्छ । तपाईं शिक्षित हुनुहुन्छ पढाउने गर्नुस्, विभिन्न सघंसस्थामा रहेर काम गर्नुस् भनेर सल्लाह दिन्थे ।’

तर उहाँ पछि हट्नुभएन बरु यस्ता मान्छेहरुलाई गरेरै देखाउनुपर्छ भन्ने नयाँ किसिमको जोसहरु आउँथे । यस्ता व्यक्तिहरुसँग बहस गरेर हरेक अप्ठ्याराहरुसँग जुध्दै अगाडी बढ्नुभयो । अहिले उहाँको कामलाई मन पराउनेहरु धेरै छन् ।

कोरोना महामारी र अहिलेको दिनचर्या

अहिलेको कोभिड १९ ले गर्दा खतिवडा धेरैजसो काम घरबाटै गर्नुहुन्छ । महामारीका बेलामा अप्ठ्यारोमा परेकाहरुलाई समुह र स्कुलबाट पैसा उठाएर खाद्यान्न उपलब्ध गराउनुभएको छ । बिहान बेलुका भर्चुअल क्लासहरुमा बसेर छलफल गर्ने, सघंसस्थाहरुको मिटिङ बस्ने र वडाले बनाएको हरेक गतिविधिहरुमा साथ सहयोग गर्दै आउनुभएको छ ।

स्कुल स्थापना गरेर एक जना विद्यार्थीलाई आफ्नै खर्चमा पढाउनुभयो । ती विद्यार्थी अहिले अमेरिकामा छन् । ती विद्यार्थीले फोन गरेर तपाईले सिकाएको शब्द शब्द टिपेर अहिले काम गरिरहेको छु भन्ने गरेको खतिवडा सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘यसबाट निक्कै आनन्द र अझै समाजसेवाको भावना बढ्छ ।’ अझै धेरै गर्ने उदेश्य समाजमा हरेक किसिमका कामहरु गर्दै जादा नयाँ नयाँ योजनाहरु थपिदै जान्छन् ।

हौसला पनि बढ्दै जान्छन् । समाजसेवी खतिवडा भन्नुहुन्छ,‘यहि कामबाटै आनन्द छ, अबको बाँकी समय सामाजिक कार्यमा नै बिताउने रहेको छ ।’ मानिसले आफुलाई जे गर्दा आत्मसंन्तृष्टि मिल्दछ, त्यहि गर्नुपर्छ । जसले सफलता हासिल गर्न मद्दत गर्छ ।’