इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो ।
२२४ रनको कीर्तिमानी लक्ष्य पूरा गरेर राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो ।
सन्जु सामसनलको ८५, राहुल तेवतियाको ५३ तथा कप्तान स्टीभन स्मिथको ५० रनको सहयोगमा राजस्थानले १९ ओभर तीन बलमा २२६ रन बनाएर जित निकालेको हो ।
पहिले ब्याटिङ्ग गरेको पञ्जाब मात्रै दुई विकेटको क्षतिमा २२३ रन बनाएर पनि हारबाट जोगिन सकेन । पञ्जाबका लागि मयंक अग्रवालले १०६ तथा कप्तान केएल राहुलले ६९ रनको योगदान दिएका थिए ।
आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।












