आज विश्व रेबिज विरुद्धको दिवस : रेबिज अन्त्यको लागि सहकार्य र खोप भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । रेबिज उन्मुलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ ।
रेबिज सङक्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगे पछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।
घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगाएतका जनावरले टोकेमा साबुन पानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरुद्धको खोप लगाउन पनि महाशाखाले अनुरोध गरेको छ । रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लूयस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।
रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।












