इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।
हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेलेपनि चेन्नईले जित्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए । त्यस्तै साम करन १५ रनमा अविजित रहे ।
हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १÷१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।
यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले १÷१ विकेट लिए । हैदराबादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ ।
चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।









