समिता श्रेष्ठ
सकारात्मक सोंच र हेर्ने नजरले यति धेरै फरक पार्छ धेरैलाई बुझ्नै गाह्रो छ । अझ सोंच विचार गरेर नयाँ कुराको खोजी गर्नु सजिलो पक्कै छैन । सृजनशिल व्यक्तिले मात्रै नयाँ सिर्जना गर्न सक्छ, चाहे त्यो काम होस् या कामले दिने नतिजा । उमेरले ७७ बर्ष पुग्नुभएको सानुकाजी श्रेष्ठ अहिले पनि सृजनात्मक काममै व्यस्त हुनुहुन्छ । उहाँको दैनिकी अनुसन्धानमै बित्ने गर्छ । सीप र जाँगर हुनेलाई उमेरले छेक्दैन ।
सानुकाजी श्रेष्ठ सानैदेखि उत्सुक स्वभावको हुनुहुन्थ्यो । हुने बिरुवाको चिल्लो पात भनेझैं उहाँ बाल्यकाल देखि नै सिर्जनात्मक कार्यमा रुचि राख्नु हुन्थ्यो । बाल्यकालमा जापानीज हात्ते पङ्खा पट्याउन मिल्ने देखेर बाँसको खोया, पातलो बाँस, डाठबाट पङ्खा बनाएर खेल्नु हुन्थ्यो ।
पङ्खा बनाउँदा पनि धेरै पटक असफल हुनुभयो, जति असफल हुनु भयो त्यसबाट उहाँमा सफल कसरी हुने भनेर जाँगर चल्थ्यो । त्यस काममा रुचि झन् बढी हुँदै गयो । ईच्छाशक्ती बलियो भएपछि जति असफल भयो, त्यति नै सिक्ने मौका प्राप्त हुने अनि त्यो काम गर्न अझ बढी उत्प्रेरित हुने उहाँको स्वभाव थियो । सानैमा पङ्खा बनाएको उहाँ भन्नुहुन्छ,‘ त्यो बेला पङ्खा बनाए, अहिले अरु काम गरेको छु, सीप र जाँगर भए उमेरले छेक्दैन ।’
अध्ययन तथा अरु काम
सानुकाजी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । परिवार मध्यम वर्ग हुनाले उहाँले सानै उमेरमा धेरै ठाउँमा काम गर्नुभयो । ठमेलको नेवार परिवारमा जन्मनु भएका उहाँले आफ्नो अङ्ग्रेजी राम्रो बनाउनको लागि भाषा अध्ययनका साथै अन्य विभिन्न तालीमहरु लिनुभयो ।
अन्य तार्किक अध्ययन गर्दै आफ्नो क्षमतालाई बिस्तार गर्नुभयो । वल्र्ड बैङ्कसम्म पुग्नु भयो, २० वर्ष काम पनि गर्नुभयो । बैंकको कामबाट रिटार्यड भएपछि युरोपको फक सेन्टर फर रिनेवल इनर्जी संस्थामा पाहुना अनुसन्धानकर्ता भै काम गर्नुभयो । जहाँ तोरिको तेलबाट गाडी चलाएको देख्नु र अन्य अद्भूत कार्य हेर्ने मौका प्राप्त गर्नुभयो । युरोपमा तीन महिना अनुसन्धानकर्ताको रुपमा विभिन्न ज्ञान हासिल गर्नुभयो ।
त्यहाँबाट उहाँ जर्मनी, स्विडेन, अमेरिका विभिन्न देश घुम्नु भयो । उहाँ सन् २००२ मा नेपाल आउनुभयो । नेपाल आएपछि उहाँले सुरुमा फाउन्डेसन फर सस्टेनेबल टेक्नोलोजी नामक संस्था स्थापना गरेर काम गर्नु थाल्नु भयो । उहाँले प्रयोग भैसकेको तर खेर जाने वा फाल्ने भान्साको सामानदेखि हाम्रो शरीरबाट निस्कने पिसावको प्रयोग गर्न थाल्नुभयो ।
कुहिने र नकुहिने दुवै वस्तु जो उपयोग भैसकेको हुन्छ, त्यो वस्तुलाई नै लिएर उहाँले नयाँ जीवन दिन थाल्नुभयो । घामबाटै खाना पकाउने, पानी तताउनुका साथै काम नलाग्ने अनेक बस्तुहरु जस्तै बियरको क्यानमा खाना पकाएर देखाउनु हुन्छ ।
बिना माटो तरकारी कसरी उमार्ने, घाँस पता तथा काठको धुलोबाट माटोको विकल्प कसरी बनाउने, आफुलाई चाहिने मलको ब्यवस्थापन कसरी गर्ने आदि क्षेत्रहरुमा उहाँ ब्यस्त हुनुहुन्छ । त्यसैबाट उत्पादन र आम्दानी समेत हुन्छ । उहाँ भन्नुहुन्छ,‘हेर्ने नजर बदलौँ, फोहोरमा मोहोर देखिन्छ, कामलाई सानो ठुलो नभनौँ ।’
सौर्य उर्जाको प्रयोग
उहाँले सौर्य उर्जाको प्रयोग मार्फत खाना पकाउने इन्धनको परनिर्भरता घटाउने विकल्प खोज्दै हुनुहुन्छ । खाना पकाउने इन्धनको विकल्प र कसरी न्युनिकरण गर्न सकिन्छ भनेर समय खर्चदैं आउनुभएको छ । उहाँले विभिन्न उपायको विकासका साथै सिक्न चाहने देशविदेशबाट आएका इच्छुक ब्यक्तिहरु तथा उद्यमीहरुलाई प्रशिक्षण पनि दिदैँ आउनुभएको छ ।
कोरोनाको महामारीले धेरै समय दुख पाउने निश्चित छ । त्यसैले कुनै पनि ठाँउ खाली नराख्ने सागसब्जी, तरकारी, फलफूल लगाउन उहाँको सुझाव छ । यसले वातावरण पनि सफा राख्न मद्धत गर्छ ।
आफूले पनि बिदेशमा नै बसेर काम गर्ने अवसरलाई नताकेर देशभित्र, परिवार, समाजसँगै मिलेर काम गर्ने सोंच र विभिन्न वातावरण संरक्षणका लागि संस्था खोलेर नेपालमै केहि गरौँ भन्ने अठोटले काम गरिरहेको उहाँ बताउनुहुन्छ । तर यसरी काम गर्दा सरकारले सहयोग, प्रोत्साहन तथा परेका बेला सहायता नगरेको उहाँको गुनासो छ ।








