पारा तेक्वान्दोमा सिर्जनालाई एतिहासिक स्वर्ण

साउदी अरबियाको राजधानी रियादमा सम्पन्न भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक हात पारेकी छिन्।

रियादमा बिहीबार राति भएको खेलमा सिर्जनाले ५२ केजीमुनि के-४४ (पारा तेक्वान्दोमा के-४४ विधा भनेको दुईमध्ये एउटा हात कुहिनाभन्दा मूनिको भाग नहुनु हो। नेपालका दुवै खेलाडी एउटै विधाका हुन्।)

विधामा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२-० ले पराजित गर्दै स्वर्ण हात पारिन्। उनले विश्व नम्बर एक पारा तेक्वान्दो खेलाडी मेर्यममाथि एकतर्फी जित निकालिन्।

त्यसअघि सिर्जनाले क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई तथा सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तोलाई हराएर फाइनलमा स्थान पक्का गरेकी थिइन।

विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण समेत हो। सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन्।

प्रतियोगितामा नेपालका २ खेलाडीले सहभागिता जनाएका थिए। सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धनले सहभागिता जनाएका थिए। पलेशा भने क्वाटरफाइनलबाट बाहिरिएकी थिइन्।

विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन्।

[sidebar name="button post"]