मौसम पूर्वानुमान : देशका अधिकांश भू-भागमा ‘भारी वर्षा’ को सम्भावना

२१ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।