२२ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्रजस्तै गरी हटाउने बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले ज्ञानेन्द्र जस्तै ओली पनि छिट्टै विदा हुने बताएका हुन् ।
वैशाखमा निर्वाचन गर्नकै निम्ति घोषणा नगरिएको रिजालले बताए । तर, उनी आफूलाई मन नपरेको संविधानको पाङ्ग्रा भत्काउन थालेको रिजालले बताए ।
संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गरे । दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको उनको भनाइ थियो ।
तर, संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेकोमा उनले आश्चार्य प्रकट गरे ।












