१४ पुष, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी र तानाशाह भएको बताएका छन् । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आमसभामा बाेल्दै प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्रविरोधी रहेको आरोप लगाएका हुन् ।
उनले पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उहाँ बयलगाडामै हुनुहुन्छ, धर्मनिरपेक्ष, संघीयताविरोधी प्रतिगमनकारी ठाउँमै हुनुहुन्छ, हामीले सच्चिनुभयो होला भन्ने ठान्यौँ, तर अहिले अपिल गर्दै गर्दा कहीँ न कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ, हामीले ओलीलाई बुझ्न सकिएनछ । यति निर्मम तरिकाले संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन । हामीले बनाएको प्रधानमन्त्रीले गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ ।’
उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत भएको हो । यसअघि टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट जुलुस निकालिएको थियो ।









