१४ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को जारी आन्दोलनका कमान्डर नेता बुद्धिमान तामाङले आफ्नो दलले गरिरहेको आन्दोलन मुलुकको लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा तामाङले यो आन्दोलन राप्रपाका लागि मात्र नभई समग्र मुलुकका लागि भएको बताए । उनले १२ बुँदे समझदारीदेखिको गलत मार्गचित्र सच्याउने उपयुक्त समय आएकोले संघर्षमा होमिन अपिल पनि गरेका छन् ।
राप्रपाले पुस १७ गते काठमाडौंको रत्नपार्कमा वृहत् प्रदर्शन गर्ने जनाएको छ । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना तथा संघीयताको सट्टा सुदृढ स्थानीय शासनलाई राप्रपाले आफ्नो मुल मुद्दा बनाएको छ ।
त्यही आन्दोलनको क्रममा नेता तामाङले आज भक्तपुरमा कार्यकर्ता भेटघाट गरेका हुन् । नेता तामाङले यो आन्दोलनलाई ‘गर या मर’को संज्ञा दिने गरेका छन् । नेता तामाङले आजै फेसबुकमार्फत पुस १७ गते हुने प्रदर्शनमा सरिक हुन अपिल पनि गरेका छन् ।









