देउवासँग चिनियाँ उच्चस्तरीय प्रमण्डलकाे भेट, ऐतिहासिक सम्बन्धबारे चर्चा

१४ पुष, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीलाई मिलाउने उद्येश्यका साथ नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रमण्डलले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको छ । भेटमा चिनियाँ प्रमण्डलका नेता विदेश विभागका उपमन्त्री गुओ यैचाले नेपाली कांग्रेससँगको ऐतिहासिक सम्बन्धबारे चर्चा गरेका थिए ।

भेटमा उपस्थित नेपाली कांग्रेस परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार, चिनियाँ प्रमण्डलले नेपाली कांग्रेसका तत्कालिन नेता बीपी कोइरालासँगको सुमधुर सम्बन्धबारे छलफल गरेका थिए । साथै, कांग्रेसले एक चीन नीतिलाई सधैं समर्थन गरेकोमा समेत उनीहरुले प्रशंशा गरेका थिए । भेटका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच आगामी दिन अझै सुमधुर सम्बन्ध स्थापना हुने विश्वास व्यक्त गरिएको थियो ।

यस्तै आउने वर्ष चीनमा कम्युनिष्ट पार्टी स्थापनाको सतवार्षिकी पर्ने भएकाले सो कार्यक्रममा उपस्थित हुन कांग्रेस सभापति देउवालाई निम्तो गरेको समेत सल्लाहकार भट्टराईले जानकारी दिए । भेटमा सहभागी कांग्रेसका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अनुसार चिनियाँ टोलीले नेपालका सबै पार्टीसँग मितेरीपूर्ण सम्बन्ध राख्ने बताएको थियो । सम्वादका क्रममा उनीहरुले कांग्रेस संस्थापक बीपी कोइरालालाई पटकपटक स्मरण गरेका थिए ।

पछिल्लो पटक हुम्लामा चीनले सीमा मिचेको भन्दै कांग्रेसले विरोध गरेको थियो । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले स्थलगत रिपोर्ट पेश गरेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र पठाएको थियो भने ग्लोबल टाइम्सले १० नोभेम्बरमा कांग्रेस भारत परस्त भएको र उसलै सीमा मिचेको अफवाह फैलाएको दाबी गरेको थियो ।

२८ कात्तिकमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ग्लोबल टाइम्सको समाचारको मात्र खण्डन गरेन, चिनियाँ दूतावासले पत्र लेखेर लगाएको आरोप आधारहीन र मैत्रीपूर्ण स्म्बन्धको गरिमा विपरीत भएको ठहर गरेको थियो । यो विवादका बेला नेपाल आएका चिनियाँ रक्षामन्त्रीले कांग्रेस नेताहरुसँग भेट समेत गरेका थिएनन् ।

तर सत्तारुढ नेकपामा फुट आएलगतै आएको चिनियाँ टोलीले देउवालाई भेट्नुका साथै सीमा विवादबारे सांकेतिक रुपमा बोलेका छन् । भट्टराईका अनुसार चिनियाँ टोलीले कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धबारे चर्चा गर्ने क्रममा नेपाल–चीन सीमासम्बन्धी प्रोटोकलको आधारशीला कांग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री बीपीकै पालामा तयार भएको बताएका थिए । कांग्रेस नेताहरुले ग्लोबल टाइम्सको पछिल्लो खबरतर्फ इंगित गर्दै चिनियाँ सञ्चारमाध्यममा आएको विषय उठाएका थिए ।

[sidebar name="button post"]