१४ पुष, काठमाडौं । वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी ओलीले संसद विघटन गरेपछि पूर्व माओवादीहरुलाई एकैथलोमा ल्याइदिएको छ । पूर्व माओवादीबाट अलग भएका मोहन बैद्य किरण र नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको पार्टीहरु प्रतिनिधिसभा विघटन विरुद्ध सहकार्य गर्ने अवस्थामा आइपुगेका छन् ।
वर्तमान संविधानको विरोध गर्ने यी दुई राजनीतिक शक्तिसँगै अरु दुई वटा राजनीतिक पार्टीले रणनीतिक संयुक्त मोर्चा बनाएका छन् । ओली कदमको विरोधमा ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र आहूति नेतृत्वको बैज्ञानिक समाजबादी उभिएका छन् ।
यी चारवटै दलहरुले ओलीले प्रतिनिधिसभा विघटनमा देशी विदेशी शक्तिको आडमा भएको निश्कर्ष निकालेका छन् ।उनीहरुको भनाई अहिलेको समस्या समाधान न त संसद पुनस्थापना वा मध्यावधि निर्वाचनले गर्ने भन्दै जनतन्त्र स्थापनाका लागि थप संघर्ष गर्नुपर्ने रहेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् । मंगलबार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो ।
चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’










