१३ पुष, काठमाडौं । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी जसपाले थप दुई हप्ता आन्दोलन गर्ने भएको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गर्ने काम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको जसपाको दाबी छ । जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्न, सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गराउन चरणबद्ध आन्दोलन गर्ने जसपाको निर्णय छ ।
२५ पुसमा धनगढीमा पूर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता लक्ष्मणलाल कर्णले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरी र भैरहवामा जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरू महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लले सम्बोधन गर्ने भएका छन् ।
२७ पुसमा वीरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत, वृषेशचन्द्र लाल, नेपालगञ्जमा मो।इस्तियाक राई, महेन्द्रराय यादव, अमृता अग्रहरी र जनकपुमा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, रेणुकुमारी यादव र शरतसिंह भण्डारी वक्ता रहेका छन् ।
त्यस्तै, २९ पुसमा पोखरामा डा. भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ शरतसिंह भण्डारी, सुर्खेतमा मो.इस्तियाक राई, नवराज सुवेदी, जितेन्द्र सोनल र विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले सम्बोधन गर्ने कार्यक्रम छ ।
३ माघमा धरानमा अशोक राई, रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, मलंगवामा राजेन्द्र महतो, महेन्द्रराय यादव, उपाकान्त झा, सिराहामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव, राजकिशोर यादव, कलैयामा रामसहाय यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी, चन्दा चौधरी र तौलिहवामा शरत्सिंह भण्डारी, मृगेन्द्रसिंह यादव र एकवाल अहमद शाह वक्ता रहेका छन् । जसपाले ७ माघमा ७७ वटै जिल्ला सदरमुकाम लगायत प्रमुख शहरमा जनप्रदर्शन तथा विरोध कार्यक्रम राखेको छ ।











