९ पुष, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीद्वारा संसद् विघटन जस्तो जनघाती कदमको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहले सडकबाटै विरोध जनाउने भएको छ ।
उक्त समूहको आज बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले यही पुष १४ गते ओली सरकारविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय गरेको छ । यस्तै पुष १० गते सबै केन्द्रीय सदस्यहरु राजधानीको माइतीघर मण्डेलामा भेला भई सरकारविरुद्ध नाराबाजी गर्ने कार्यक्रमसमेत आजको बैठकले पारित गरेको छ ।
सोही दिन उक्त टोली बहादुर भवनस्थित निर्वाचन आयोग गई आफ्नो दाबी प्रस्तुत गर्ने कार्यक्रमसमेत तय भएको छ । साथै पुस १० गते नै पत्रकार सम्मेलन आयोजना गरी आफ्ना कार्यक्रमबारे प्रष्ट पार्ने प्रस्ताव कमिटीले पास गरेको छ ।
यस्तै पुस १२ गते देशका ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला गर्ने प्रस्तावसमेत आजै पारित गरिएकोछ । यसैगरी पुस १४ गते राजधानीलगायत देशैभरि सरकारको असंवैधानिक कदमविरुद्ध सशक्त प्रर्दशन गरिने भएको छ ।
पहिलो चरणको कार्यक्रमको प्रभावका आधारमा दोस्रो चरणका कार्यक्रत तय गरिने भएको छ । जसमा नेपाल बन्दसम्मका कार्यक्रम रहने एक केन्द्रीय सदस्यले बताए ।









