८ पुष, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा चर्काचर्की भएको छ । संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्कालै सडक आन्दोलन थाल्ने कि नथाल्ने भन्ने विषयमा कांग्रेस नेताहरुबीच चर्काचर्की भएको हो ।
युवा नेताहरुबाट शुरु भएको चर्काचर्की सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म पुगेको थियो । बैठकमा सभापति देउवा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयपछि मात्रै ओलीविरुद्ध सडकमा जानुपर्ने पक्षमा रहँदा रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको थियो ।
बैठकको सुरुमा बोलेका डा. रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताए। त्यसपछि बोलेका युवा नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए ।
नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए । केन्द्रिय नेताहरु बोल्ने क्रममा एक अर्कासँग बाझाबाझ गरेका थिए । त्यसपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच पनि चर्काचर्की भएको थियो ।
त्यसपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ। एक पदाधिकारीका अनुसार भोलिको बैठकले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गर्नेछ ।












