७ पुष, काभ्रे । काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अपदस्थ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला लगाएका छन् । उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।
प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनमा लागेपछि ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विवाद जिल्लासम्म आइपुगेको छ ।
जिल्लामा नेकपाका पार्टी इञ्चार्ज गोकुल बाँस्कोटालगायत केपी पक्षमा रहेका छन् भने पार्टीका अध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइबा प्रचण्ड–नेपाल पक्षका हुन् । पार्टी कार्यालय प्रचण्ड–नेपाल पक्षले कब्जा गर्ने देखिएपछि ओली पक्षले पुरानो ताला फुटाएर नयाँ ताला लगाएका हुन् ।
देशभरि ओली र प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताबीच विभाजन देखिएसँगै झडप हुन सक्ने परिस्थितिलाई लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको पनि विरोध भइरहेकाले पनि देशभर सुरक्षाकर्मीको परिचालनलाई बढाइएको छ ।
यस्तै, लमजुङमा पनि युवा संघका नेताहरुले नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन् । पार्टी फुटको संघारमा पुगेको अवस्थामा युवा संघले जिल्ला अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका हुन् । लमजुङमा पनि तत्कालीन एमालेकै कार्यालयमा नेकपाको जिल्ला पार्टी कार्यालय राखिएको थियो । तालाबन्दीपछि प्रधानमन्त्री ओली निकट विद्यार्थी नेताहरुले नारावाजी र प्रदर्शनसमेत गरेका थिए ।












