Ad #144479

४ पुष, काठमाडाैं । कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरूले मिलेर प्रतिपक्षको धर्म निर्वाह गर्ने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा जसपाका शीर्ष नेताहरूलाई बोलाएर शनिबार अपरान्ह करिब तीन घन्टा छलफल गरेका छन् ।

छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका थिए । कांग्रेसका तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

भेटमा वर्तमान सरकारका क्रियाकलाप, कोरोना नियन्त्रण र न्यूनीकरणमा सरकारको असफलता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसद्को हिउँदे अधिवेशनलगायत विषयमा छलफल भएको थियो ।

भेटमा कांग्रेस र जसपाले एक ढिक्का भएर आउने अधिवेशनमा सरकारका गलत क्रियाकलापका विरुद्ध प्रतिरक्षा गर्ने निर्णय भएको देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेसको शुक्रबार बसेको संसदीय दल कार्यसमितिको बैठकले संसदको हिउँदे अधिवेशन र अध्यादेशलगायत विषयमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो । सोही आधारमा शनिबार देउवाको निमन्त्रणामा जसपा नेताहरू बूढानीलकण्ठ पुगेका हुन् ।

शुक्रबार साँझ भने देउवाले संसद्मा कांग्रेसको २५ प्रतिशत संख्या नपुगेको र अन्य दलसँगको सहकार्यको प्रयास असफल भएका कारण संसद्को विशेष अधिवेशनको माग गर्न नसकिएको ट्विट् गरेका थिए ।