१ पुष, काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बस्न ढिला भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेल फेरि छलफलमा जुटेका छन । एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले महासचिव विष्णु पौडेललाई राखेर छलफल थालेका छन् ।
एक घन्टा अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । छलफलपछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए । तर, ओली बैठकमा नआएपछि पुन: प्रचण्ड उनीसँग छलफल गर्न निस्किएका हुन् ।
दुई अध्यक्षले महासचिवलाई साक्षी राखेर छलफल सुरु गरेका छन् । आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको थियो । प्रचण्ड- नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन् ।
यसैबीच स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसालसहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका छन्।











