शिक्षा आयोगको प्रतिवेदन छाप्नेलाई कारबाही गर्ने निर्णय फिर्ता लिन नेविसंघकाे माग

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

महामन्त्री बलदेव तिम्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन छाप्ने राष्ट्रिय अभियान नेपाल ‘एनसीई नेपाल’ र ग्लोबल एक्सन नेपालसँग सम्बन्ध विच्छेद र कारबाही सिफारिस गर्ने निर्णय अविलम्ब फिर्ता लिन माग गरेका हुन् ।

‘शिक्षामन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले २१ महिनाअघि प्रधानमन्त्रीसमक्ष पेश गरेको प्रतिवेदन आयोगका १३ सदस्यको निर्णय र स्वीकृतिमा संविधानपदत्त सूचनाको हकअन्तर्गत सार्वजनिक बहस एबं सार्बजनिक शिक्षा सुदृढीकरणमा थप टेवा पुर्याउने उद्देश्यले प्रकाशित गराउने संस्थालाई नै कारबाही गर्ने भन्ने सरकारी निर्णयप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

नेविसंघले लामो समयसम्म प्रतिवेदन लुकाउने र प्रतिवेदनमाथिको अत्यावश्यक बहस रोक्ने पक्षलाई कारबाहीको दायरामा ल्यानुपर्नेमा असल नियतले पुस्तक छाप्ने संस्थालाई दोषारोपण गर्ने कार्य भएको पनि ठहर गरेको छ । नेविसंघले शिक्षा मन्त्रालय आफ्नो निर्णयबाट पछि नहटे सशक्त प्रतिरोधमा उत्रिने समेत चेतावनी दिएको छ ।

[sidebar name="button post"]