१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको बिहीबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले विकास निर्माणका लागि कांग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको बताए। उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि संघर्ष गर्नु पर्नेमा पनि जोड दिए।
कांग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो। कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटनका लागि बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई करिब तीन घण्टापछि छाडेको थियो । बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पुल उद्घाटन कार्यक्रममा सहभागि कांग्रेसका नेताहरूले बताएका छन् ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीको अध्यक्षतामा आयोजित पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्लेलगायतका नेताहरूले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचार प्रति खेद व्यक्त गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्धको आन्दोलन जारी रहने बताएका छन् ।












