ओली र प्रचण्डबीचको सम्बन्ध नाजुक मोडमा

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा भनाभन भएको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनलाई छलफलको विषय नभएको र आरोपपत्र मात्रै भएको टिप्पणी गरेका थिए ।

जवाफमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पार्टी एकताको लागि गम्भिर छलफलको विषय भएको बताएपछि भनाभन भएको हो । ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? यो सह्य छैन् भन्दै प्रतिवाद गरेका थिए ।

त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ भनेर कुरा राखेका थिए ।

मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र प्रचण्डबीच भनाभन भएपछि केही सदस्यले पनि धारणा राखेका थिए । दुई अध्यक्ष मिल्नुपर्ने धारणा सदस्यले राखेपनि पहिलेको भन्दै अहिले ओली र प्रचण्डबीचको सम्बन्ध नाजुक मोडमा पुगेको छ ।

सचिवालय बैठक भोलि फेरि बस्ने भनिएपनि अब १८ गते बस्ने सचिवालय बैठक र २५ गते बस्ने केन्द्रिय समिति बैठक अन्यौलमा परेको छ ।

[sidebar name="button post"]