१६ मंसिर, काठमाडौं । सरकारले नेपाल–भारत सिधा हवाई उडान खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् भारत सरकारलाई उडान खुला गर्ने विषयमा जानकारी गराउने भएको हो ।
मन्त्रालयले उडान खुला गर्ने र एयरलाइन्सलाई सेड्युल पेस गर्न आव्हान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको छ। मन्त्रालयको पत्र आएको र अब एयरलाइन्सहरुलाई सेड्युल पेस गर्न निर्देशन दिइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
नियमित उडान खुलेपछि नेपाल एयरलाइन्सले दैनिक एक उडानको अनुमति पाउने छ भने अरु एयरलाइन्सहरुको टुंगो लागेको छैन। काठमाडौंमा उडान गर्ने भारतले दुई महिना अघि नै प्रस्ताव पठाएको थियो।
नेपालले सिमित गन्तव्यमा उडान सुरु गरेपछि भारतीय पक्षले काठमाडौंमा पनि उडान गर्ने प्रस्ताव पठाएको थियो। उडान खुलेसँगै झण्डै ९ महिनापछि भारतसँगको अन्तराष्ट्रिय उडान खुल्ने भएको छ । अरु देशसँगको उडान पनि खुल्न बाँकी छ ।









