११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजदेखि शुरु हुँदैछ । साधारणसभाको उदघाटन विहान साढे ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय गरिएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्दसत्र भोलि अर्थात १२ गते हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने विधानको व्यस्था छ । सो व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको नयाँ अध्यक्ष बन्नेछन् । बाँकी पदहरुमा भने चुनाव हुनेछ ।
गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनाव लड्दैछन् । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्रतिष्पर्धा गर्दैछन् । यस्तै एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् ।
महासंघको निर्वाचनका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने महासंघको सचिवालयले जनाएको छ । कोभिड १९ को जोखिम र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दाभिन्दै ठाउँमा निर्वाचन कार्यक्रम तय गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ ।
कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । गएको चैतमै हुनुपर्ने महासंघको साधारणसभा कोरोनाका कारण पटक पटक स्थगित भएको थियो ।









