सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने

१० मंसिर, काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने निर्णय गरेको हो । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वीकृत गरेको हो । सगरमाथाको उचाइ यकिन गर्नका लागि नेपाली र चिनियाँ सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । दुवै मुलुकका सरकारी कमिटीले प्रतिवेदन तयार पारेका थिए । नेपालको सरकारी समितिले सगरमाथाको उचाइ नापजाँचको प्रतिवेदन मन्त्री अर्याललाई बुझाएपछि सार्वजनिक गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै छिट्टै सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने तयारी छ । दुई बर्षअघि नापी विभागका अधिकृत सगरमाथामै पुगेर उचाई नापेका थिए । त्यसको एक बर्षपछि सरकारले सगरमाथाको उचाई सार्वजनिक गर्न लागेको हो । अहिलेको उचाई ८ हजार ८ सय ४८ मीटर छ । नयाँ उचाई सार्वजनिक भएमा यो उचाई बढ्न वा घट्न पनि सक्छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । कृषितर्फ योगेन्द्र कार्की, इन्जिनियरिङतर्फ सुरेश आचार्य र प्रशासनतर्फ गोकर्णमणि दवाडीलाई बढुवा गरिएको छ । मन्त्रिपरिषद्को बैठकले निजामती कर्मचारीहरूको आधिकरिक ट्रेड युनियनको निर्वाचन फेरि पनि स्थगित गरेको छ ।

[sidebar name="button post"]