रमिता दंगाल
कोरानाविरुद्ध भक्तपुरको चाँगुनारायण नगरपालिका भित्रका सबै वडाहरुमा सडक नाटक गरिएको छ । नगरपालिकाको आयोजनामा कोभिड १९ विरुद्ध जनचेतना बढाउने उदेश्यले कलाकार समुहद्वारा सडक नाटक गरिएको हो । सडक नाटक मंसिर ५ गते शुक्रबारदेखि सुरु भएर मंगलबार ९ गते समापन भएको छ ।

चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको सडक नाटक कार्यक्रमको निर्देशक प्रभाकर न्यौपाने हुनुहुन्थ्यो । चाँगुनारायण नगरपालिकाभित्र ९ वटा वडाहरु रहेका छन् । प्रत्येक वडामा एउटा कार्यक्रम गरेको र एउटा अलिकति ठुलो वडा भएकाले दुई वटा कार्यक्रम गरेर १० वटा कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

अब चलायमान बन्नुपर्ने संदेश
नागरिकलाई कोरोनासँग डराएर भन्दापनि सचेत रहेर भौतिक दुरी कायम गरेर आ–आफ्नो काममा चलायमान हुनुपर्छ भन्ने धारणा सहित चाँगुनारायण नगरपालिकाले सहयोग गरेको कलाकार विश्वदिप घिमिरेले बताउनुभयो । मास्कको प्रयोग गरेर, मास्क नहुँनेलाई बाँडेर, सबै हेर्न आउने दर्शकहरुलाई नाटक सुरु हुनुभन्दा अगाडी सेनिटाइजर गरेर, भौतिक दुरी कायम गराएर, राज्यले तोकेका मापदण्ड सकेसम्म पालना गरी सडक नाटक प्रस्तुत गरेको पनि उहाँले बताउनुभयो ।

सडक नाटकको माध्यमद्वारा यो कोरोना भाइरस के हो ? सधैँ हामी डराएर बस्ने कि सचेत रहेर आफ्नो काममा फर्किन मिल्छ कि मिल्दैन ? कस्तो प्रभाव पर्छ, यो कोरोना नलागेका मान्छेलाई कोरोना केहि पनि होइन भन्ने लागेको छ । कोरोना लागि सकेपछि के रहेछ भन्ने कुरा जनमानसलाइ जनचेतना दिइएको घिमिरे बताउनुहुन्छ ।

कोरोना महामारी र संक्रमण नियन्त्रण गर्नका लागी नगरपालिका र वडाहरुले बाटोघाटो पूर्वाधारका कामहरु रोकिएका छन् । साथै कतिपय विकास निर्माणका काम रोकिएका छन् । संक्रमण नियन्त्रण गर्न ध्यान दिएर ती कामहरु रोकिएका छन् । जनजिबन चलायमान बनाउनका लागि नागरिकहरुले कोरोना विरुद्ध लड्दै सामान्य अबस्थामा फर्कनुपर्ने बाध्यता छ । विकास निर्माणका काम रोकिएका भन्दा पनि तत्कालका लागि स्थगित भएका जनप्रतिनिधिको भनाई छ ।

नियमित कार्यक्रम र नियमित विकासका कार्यक्रमहरु त छँदै छन् । नगरपालिकाले मापदण्ड अनुसार आफुले गर्नुपर्ने कार्यक्रम संगसंगै यो कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि सुरक्षा अपनाउँदै हामीले हाम्रो काम चाहिं गर्नुपर्छ भनेर जनचेतना फैलाउंदै सडक नाटक कार्यक्रम गरेको कलाकार घिमिरेले बताउनुभयो । अन्तिम कार्यक्रम वडा नं ९ ताथलीमा समापन भएको छ । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले रातोपाटीमा देखाइएको नाटक हेरेर अन्तिममा विशेष धन्यबाद दिनुभएको छ ।

कोरोना महामारीपछि अवस्था फरक
बिगत २० बर्षदेखि कलाकारिता क्षेत्रमा लागेका विश्वदिप भन्नुहुन्छ,‘म चलचित्र क्षेत्रमा छु, म जस्तै कलाकार जुटेर विभिन्न जनचेतनामुलक सडक नाटकहरु गर्दै आएका छौ । मेचीदेखि महाकालीसम्म सबै क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा २०५७ सालदेखि सडक नाटक गर्दै आएको छौँ । यो सोंच एक्कासी आएको होइन, परिस्थिती अनुसार यस्ता कार्यक्रम हुँदै आएका छन् ।

कोरोना महामारीपछि अलिकति अवस्था फरक बनेको छ ।’ कार्यक्रममा कलाकार र संगीत संयोजनदेखि लिएर १० जनाको समुह रहेको छ । सडक नाटकमा मुख्य कलाकारहरुमा विश्वदिप घिमिरे, राजेन्द्र बर्तौला, प्रल्हाद खरेल, राजन भुजेल, राधा श्रेष्ठ, सरस्वती अधिकारी, मन्जी गिरी र प्रभाकर न्यौपाने रहनु भएको थियो ।










