प्रधानमन्त्री प्रचण्डसँग राप्रपा अध्यक्ष लिङदेनको आग्रह रविलाई मन्त्री बनाउन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री समेत रहेका लिङदेन बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार त्यसक्रममा उनले रवि लामिछानेलाई मन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । लामिछानेलाई मन्त्री नियुक्त गर्दा गठबन्धन बलियो हुने उनको भनाइ थियो ।

लामिछानेलाई मन्त्री बनाउन यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई दबाब दिँदै आएका थिए । लिङदेनले पनि ‘दबाब’ दिएर प्रधानमन्त्रीलाई ‘प्रेसर’मा पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेका विषयमा विभिन्न आरोपहरू लागेको र छानबिन समेत चलिरहेको भन्दै सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएर राहदानीको विषय टुंगोमा पुगेपछि मात्र मन्त्री बनाउन उपयुक्त हुने बताएको बालुवाटार स्रोतले जनाएको छ ।