सर्लाही: सत्ता गठबन्धनले हिजो जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ ।
गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रस्टीकरण गर्ने उद्देश्यले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ। सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ।
सर्लाही २ मा माओवादी केन्द्रको तर्फबाट महेन्द्र राय यादव र लोसपाको तर्फबाट राजेन्द्र महतो उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार गठबन्धनको भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको लोसपाले जनाएको छ । तर हिजो गठबन्धनले विज्ञप्ति जारी गरी सर्लाही २ मा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महेन्द्र राययादव, सर्लाही क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा सुनिल साह र प्रदेशसभा (२) मा कौशल किशोर राय यादव उम्मेदवार रहेको प्रष्ट पारेको थियो ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महिन्द्रराय यादव साझा उम्मेदवार रहेकाे जनाएका थिए।










