देशी विदेशीको षडयन्त्रकै कारण मेराे टिकट खाेसियो : भीम रावल

काठमाडौं: एमाले नेता भीम रावलले आफूलाई प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरिनुमा देशी विदेशी षडयन्त्र भएको र त्यसमै परेर एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएको बताएका छन् ।

बिहीबार कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देशभक्त र राष्ट्रहितको तेजोबध गर्नकै लागि राजनीति सिध्याउन टिकट नदिइएको आरोप लगाए । उनले आफूले एमसीसीकाे विराेध गर्दा र विपक्षमा भाेट हाल्दा त्यसलाई अहिले टिकट दिने बेला उठाइएकाे बताए ।

रावलले ओलीले गरेको निर्णय प्रथम दृष्टिमै स्वेच्छारिता र गलत रहेको पनि दाबी गरे । ‘षड्यन्त्रपूर्ण स्वेच्छाचारी ढंगले मलाई निर्वाचन नलड्ने भ्रमपूर्ण प्रचार गरियो । सोहीअनुसार रावल सम्पर्कविहीन भनेर प्रचार गरियो । माफी माग्नुपर्ने हल्ला चलाइयो । यसमा पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्ति लागेका थिए । ओलीका मान्छेले गरेको अध्ययनमा मलाई हराउन नसकिने देखियो । त्यसपछि कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो,’ रावलले भने ।

उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने, माक्र्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे । अछाममा भने त्यहाँका बहुसंख्यक जनताको भावनाको कदर गर्दै त्यसअनुरुप चल्ने बताए । एमालेले कति सिट जित्छ भनेर आफूले भन्न नसक्ने रावलको भनाइ थियो ।

[sidebar name="button post"]