२५ असोज, काठमाडौँ । काठमाडौँ–२ प्रदेशसभा २ का एमाले उम्मेदवारी सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ।
श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रुपमा रकम लिएको र त्यसलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिए पनि गरेको भन्दै उम्मेदवारी नै खारेजीको माग गर्दैै उजुरी परेको हो।
उजुरी उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले दर्ता गरेका हुन्। आइतबार दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको थियो।
काठमाडौँ २ की निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार उजुरी उपर भोलिसम्म छानबिन गरेर निर्णय लिने जानकारी दिइन्। उनले भनिन्, ‘उहाँले यसअघि नै बेरुजु फछ्र्यौट गरेको निस्सा ल्याउनुभयो भने उजुरी खारेज हुन्छ। अन्यथा उम्मेदवारीबारे कानुन बमोजिम निर्णय गर्छौ।’
निर्वाचन आचार संहिता २०७९ उम्मेदवार हुनुअघि कुनै पनि व्यक्तिले बेरुजु भए फछ्र्यौट गर्नुपर्ने उल्लेख छ। फछ्र्यौट नगरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ तथा आचार संहिताको दफा ४६ बमोजिम उम्मेदवारी नै खारेज हुने कानुनी व्यवस्था रहेको छ।
श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रणका नाउमा ७०,६१८ रुपैयाँ भत्ता लिएको महालेखाको वार्षिक प्रतिवेदनमा औंल्याइएको उजुरीमा उल्लेख छ। उक्त भत्ता बागमती प्रदेश सरकारद्धारा जारी गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐन २०७५ विपरीत रहेको भन्दै उजुरी परेको हो।
काठमाडौँ २ मा यो बाहेक अरु कुनै पनि उजुरी नपरेको रेग्मीले जानकारी दिइन्।










