२५ असोज, खजुरा । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित हुनुहुन्छ । उहाँ बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहनुभएको छ ।
उहाँलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेङ्गु सङ्क्रमणको अर्को चिन्ताले पिरोलेको छ । “चिसो भुइँमा एउटा ओछ्याउन लगाउनुहुन्छ, अनि सुत्नुहुन्छ त्यसपछि लामखुट्टेले उहाँलाई सुत्नै दिँदैन”, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ”, उहाँ भन्नुहुन्छ, “ लामखुट्टेले सुत्न दिँदैन ।”
अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ । यतिबेला उहाँ पनि एडिज एजिप्टाइ र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणको जोखिममा हुनुहुन्छ । उहाँले भन्नुभयो, “घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु ।” उहाँहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेङ्गुको जोखिममा पर्नुभएको छ ।
नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन । यतिबेला उहाँको घर डुबिसकेको छ, “घरबाट केही सामान ल्याउन पाइएन”, उहाँले भन्नुभयो, “यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी भएको जनाउँदै भन्नुभयो, “साँझलाई चामल, तरकारी छैन, बाढीपीडित अहिले समस्यामा परेका छन् ।”
यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताउनुभयो । “झुलको व्यवस्था हुनुपर्छ”, उहाँले भन्नुभयो, “नत्र हामी सबै डेङ्गु सङ्क्रमणको सिकार हुन्छौँ ।” लगातार भइरहेको वर्षाका कारण विद्युत्समेत अनियमित हुँदा थप समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।
बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्”, उहाँले भन्नुभयो, “बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन् ।” बाढीपीडितहरू डेङ्गु सङ्क्रमणको जोखिममा परेको भन्दै उहाँले तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ । वडा तथा पालिका सरकारले तत्काल डेङ्गु सङ्क्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ । अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भइ आश्रित रहेका छन् ।









