बैतडी : आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ।
सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेको हो । जनमतका आधारमा संघीय संसदको लागि गठबन्धन दलहरूका तर्फबाट नेपाली कांग्रेसले टिकट पाउनुपर्ने अन्यथा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । बैठक जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको थियो ।
संघको टिकट कांग्रेसलाई नदिएमा बैतडीमा गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावमा जाने जनाएको छ। संघमा नेपाली कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको छ।
स्थानीय तहको निर्वाचन बैतडीमा कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८ र नेकपा एकीकृत समाजवादीको ३ हजार १४० मत प्राप्त गरेको थियो।











