उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने काम भो- डा. भट्टराई

काठमाडौं: नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन् ।

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको ढुङ्गामा प्वाल पार्ने काम गरेको आरोप लगाए ।

उनले भने, ‘अहिले म कसैको नाम यहाँ लिन चाहन्न, उच्चतम् तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिचिदिने, जुन काम अहिले भइरहेको छ, कोहीको पनि जिम्मेवारी छैन। भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्दिने, जुन एउटा प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नको निम्ति पनि हामीले लोकतन्त्रको सदृढीकरणको विषय महत्वपूर्ण छ। उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ।’

अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरू नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए। उनले त्रिभुवन विश्वविद्यालयलाई ‘सेन्टर फर एक्सलेन्स’ को रूपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरेका छन् । अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने सुरुवात गरे पनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताए ।

[sidebar name="button post"]