काठमाडौं: आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ।
उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ।
छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आज आचारसंहितामा दलहरुकाे प्रतिवद्धता लिइनेछ।
आयोगले तयार गरेको सूत्रबमोजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ। सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले असोज ११ गते राजनीतिक दलका पदाधिकारीसँग उक्त विषयमा छलफल गरिने बताए। “तत्कालै खर्च सीमा यति तोकियो भन्न सकिन्न, दलसँगको छलफलमा आएका सुझावका आधारमा आयोगले निर्णय गर्नेछ,” उनले भने।












