नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिले कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् ।
आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले उक्त कार्यको आफूले विरोध गर्नेसमेत बताए ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती सिर्जना सिंहले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
केही नेताहरूले उनीहरूको विषयमा आलोचना गरेपछि प्रचण्डले आज त्यसको विरोध गरेका हुन् ।
‘हिजो युद्धको बेलामा, शान्तिको बेलामा, संविधान निर्माणको बेलामा महिलालाई कसरी राष्ट्रको पक्षमा सदुपयोग गर्ने भनेर संविधानमा एउटा मूलभूत व्यवस्था गरिएको थियो, तर व्यवहारमा लागु गर्ने क्रममा कहिँ न कहिँ चुकिरहेका थियौँ । अहिले यो प्रक्रिया अघि बढेको छ । म खुसी व्यक्त गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भने ।
काठमाडौँको महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई विजयी गराउनु भनेको साच्चै परिवर्तनलाई विजयी गराउनु रहेको दाबी उनले गरे ।











