सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उमेदावर रेणु दाहालले गएको पाँच वर्षमा भरतपुरमा आफूहरूले विकासको आधार खडा गरेको र पुनः जितेर पाँच वर्षभित्र पूर्ण काम सम्पन्न गर्ने बताएकी छन् ।
बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नगरवासी र प्रतिपक्षहरूको अगाडि टाउको झुकाउनुपर्ने अवस्था नभएको दाबी गरिन् । धेरै आयोजनाको काम अघि बढाएकाले पाँच वर्षभित्र आयोजना पूरा गरेर समग्र विकासको नमुना देखाउने उनको भनाई छ ।
‘हाम्रो जित सुनिश्चित छ,’ सत्तागठबन्धनले आज चितवनमा गरेको चुनावी सभामा उनले भनिन्, ‘केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।’
‘यो पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी सिधा आँखाले जनता र प्रतिपक्षका अगाडि कुरा गर्न सक्छौं, गर्व गर्न लायक काम गरेका छौं,’ उनले भनिन्, ‘अब थप पाँच वर्ष समय पाउने हो भने अघि बढेका आयोजना पूरा हुन्छन्।’











