कांग्रेसले आधिकारिक उम्मेदवारका पक्षमा मत माग्ने ‘बागी’लाई कारबाही नगर्ने

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वत: निष्कासित हुने भएपनि आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन नगरिने बताएका हुन् ।

उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरूले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा विधानको व्यवस्थाअनुसार नहुने उल्लेख गरे । उनले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरूलाई आग्रह गरे ।

प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार देशभरमा नेपाली कांग्रेसबाट ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, उपमेयरमा १९४ जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना,गाउँपालिका उपाध्यक्षमा ३४० जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।

[sidebar name="button post"]