माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय

१ भदौ, काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी ‘एमाले’ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो ।

एमालेले नेपालसहित सांसदहरु मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी‚ भवानी खापुङ‚ जीवनराम श्रेष्ठ‚ लक्ष्मीकुमारी चौधरी‚ निरादेवी जैरु‚ पुष्पाकुमारी कर्ण‚ सरला यादव‚ कलिला खातुन‚ कृष्णलाल महर्जन‚ कल्याणी खड्कालाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

यो पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ । यसबारे सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गर्नुपर्छ । संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै पदमुक्त भएको जानकारी गराउँछन् । संसद नभएको अवस्थामा सूचना टाँसेर पनि जानकारी गराउने गरिएको छ ।

सरकारले आज ‘मंगलबार’ मन्त्रिपरिषद्को बैठक बसी दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । योसँगै राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्नेमा अब २० प्रतिशत भए पुग्‍ने व्यवस्था गरिएको छ ।