लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

२७ श्रावण, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

श्रावण १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले आजै दिउँसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए ।प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् ।