विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ श्रावण, काठमाण्डौ। सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ । उनले आज प्रधानमन्त्री कार्यालयबाट नियुक्त पत्र लिएपश्चात पदबहाली गर्नेछन्। यस अघि सो पदमा हितेन्द्रदेव शाक्य कार्यरत थिए। उनलाई सरकारले जल तथा ऊर्जा आयोगमा पठाई कुलमानलाई सो पदमा नियुक्त गरेको हो।

२०७७ साल भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर घिसिङले प्रमुख भूमिका खेलेका थिए।

घिसिङ पुनः प्राधिकरणमा आउने समाचार बाहिरिएसँगै हाईड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि लगानीकर्ताको आकर्षण अझ बढ्न थालेको देखिन्छ। उज्यालो नेपालका अभियान्ताको रुपमा रहेका घिसिङ प्रति आम नागरिकले समेत ठूलो विश्वास देखाउदै आएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्। सरकारले आफूलाई ससम्मान दिने अर्को जिम्मेवारी दिएमा जान तयार रहेको शाक्यले बताउँदै आएका थिए।