३१ असार, काठमाण्डौ। सर्वोच्च अदालतको आदेशसँगै हालै शान्तिपूर्ण राजनीति अगांलेको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ। केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वयन गर्दै नेता कार्यकर्तालाई रिहाइ गर्ने विषयमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय निरन्तर छलफल गर्दै आइरहेका छन् ।
बुधवार अपराह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा विप्लव र अर्का नेता धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्तामा भएको थियो । पुन: छलफललाई निरन्तरता दिंदै बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र विप्लवबीत बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विप्लव र एमाले वरिष्ठ नेता नेपालबीच बिहीबार नेपाल निवास कोटेश्वरमा यसबारेमा छलफल भएको हो।
प्रचण्ड र चन्द नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेताहरुबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। भेटमा अध्यक्ष प्रचण्डले विगतमा पनि आफूले बृहत् कम्युनिस्ट एकताका लागि गरेको पहल विफल भए पनि अब नयाँ ढंगले कम्युनिस्ट पार्टीबीच एकता गरेर अघि बढ्न सकिने बताएका थिए।
विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच तीन बुँदे सहमति भएको थियो। त्यसपछि नेकपाले हिंसात्मक गतिविधि छाडेर प्रतिस्पर्धात्मक राजनीतिमा संलग्न हुन थालेको छ। सरकारसँग भएको सहमतिअनुसार नेकपाका २० जना जति नेताकार्यकर्ता रिहा भएका छन्। अझै १३० भन्दा बढी कार्यकर्ता विभिन्न अभियोगमा थुनामा छन्।












