१९ जेष्ठ, काठमाण्डौ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको बैठकमा आज पनि पार्टी विवादकै विषयमा छलफलको तयारी भएको छ ।
मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । तर, पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।
एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरेका छन् । थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । तर मंगलबारको बैठकले यसबारे कुनै निर्णय गरेन ।७ जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई ओलीले कारबाही प्रक्रिया अगाडि बढाएका छन् । २३ मध्ये तीन जना भने आफ्नो निर्णयबाट पछि हटे पछि उनीहरुलाई स्पष्टिकरण सोधिएको छैन ।











