२५ फागुन, काठमाण्डौ। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ र नेकपा ‘माओवादी केन्द्र’लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । आज बिहान बोर्ड फेरिएको हो । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।
सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । ‘एमाले’ को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।











