२१ फागुन, काठमाडौं । आज राजधानीमा विप्लव समूहसँग भएको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने – “देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण नै सबैको चाहना हो , त्यसका लागि शान्ति र लोकतन्त्र रहनुपर्छ ।”
आज देशमा गतिशील जनशक्ति र वातावरण तयार गर्न ऐतिहासिक कदम चालिएको र नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए । त्यस्तै नेपाल शान्तिपूर्ण देश भएको सन्देश दिन आजको दिनलाई स्मरण गरिने ओलीले बताए।
उनले भने ‘नेकपाका महासचिव विप्लव जीलाई बधाईं भन्न चाहन्छु। स्वागत छ। शुभकामना छ। एकपटक फेरि साहसी कदम चाल्नु भएको छ । यो योगदानका लागि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु । यो साहसी कदम हो। जो कोहीले यो गर्न सक्दैनन्।’
आफूहरु एउटै उद्येश्यमा रहेको भन्दै उनले समृद्ध नेपाल सुखी नेपाली र निर्माण नै सबैको अभिष्ट भएकाले मिलेर नै अगाडि बढ्न सकिने पनि बताए र ती सपना पूरा गर्ने प्रयासमा एकजुट हुन उनले आह्वान गरे ।











