प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष

१२ फागुन, काठमाण्डौ। नेकपा ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद बैठक बोलाउने निर्णय भएको ओली समूहले निर्णय गरेको हो ।

आफूले भंग गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले व्यूँताइ दिएपछि कसरी अगाडि बढ्ने भनेर आज प्रधानमन्त्री केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकले फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हाे । पार्टी प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

सर्वाेच्चले गरेको फैसला हामी स्वीकार्छाैं, साथै उपयुक्त समयमा कार्यान्वयन पनि गरिनेछ–उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने । बैठकमा प्रधानमन्त्रीले वैकल्पिक सरकार बन्ने अवस्था निर्माण नभएसम्म राजीनामा नगर्ने जानकारी उनले दिए ।

विगतमा १७ पटकसम्म मतदान हुँदा प्रधानमन्त्री छानिएको थिएन, त्यसैले पहिला विकसित घटनाक्रम हेरौं, अनि मात्र राजीनामाको कुरा आउँछ–बैठकमा प्रधानमन्त्रीले भनेको मन्त्री ज्ञवालीले बताए ।

लगत्तै संसदीय दल र केन्द्रीय कमिटी बैठक डाकेर हामी आवश्यक निर्णय गर्नेछौं भन्दै उनले अहिलेसम्म संसदीय दलको नेता ओली नै रहेकोले उनले बोलाएको बैठक मात्रै आधिकारिक हुने दाबी गरे ।

त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

[sidebar name="button post"]