२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंगित गर्दै उनले अदालतलाई यही गर भन्न नमिल्ने बताए ।
आफूले भेटेका वकिलहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखेको छैन भनेको भन्दै उनले भने, ‘पाइन्न भनेको छ भने त्यो हुनुपर्छ । त्यसैले अदालतको कुरामा हामी केही नगरौं । दुबैका लागि तयार होऔं ।’
चुनावले प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफू मान्न तयार नभएको समेत देउवाले बताए । संसद पुनर्स्थापना भएपनि डेढ वर्ष पछाडि चुनाव हुने भन्दै देउवाले भने, ‘संसद पुनर्स्थापना भए भूमिका खेलौंला, चुनाव भए चुनावमा जाउँला ।’
उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने उनको भनाइ छ ।











