उजाड लेकमा जडीबुटी खेती

२९ माघ, इलाम। किरण पौड्याल नौ वर्ष अघि इलाम नगरपालिकास्थित साँखेजुङका देउकुमार राईलाई नयाँ काम गर्न मन लाग्यो । भर्खरै लाहुुरबाट फर्किएका देउकुमारलाई गाउँमै बसेर कृषिमा होमिन मन थियो । तर, के गर्ने पत्तो थिएन ।

साथीको सल्लाहमा लेक साइडमा जग्गा किन्ने सोचमा देउकुमार पुग्नुभयो । जडीबुटी खेतीको धेरै सम्भावना र पर्यटकीय क्षेत्र भएकाले देउकुमारले जिल्लाकै सन्दकपुर गाउँपालिकास्थित सुलुबुङको माइपातालमा जग्गा लिनुभयो । सुविधा खोज्दै आंैल (तल्लो क्षेत्र) र मधेश झर्नेको लहरमा एक्ला देउकुमार लेकको जग्गामा लगानी खन्याउँदै हुनुहुन्थ्यो ।

लेकको जग्गा, सबैतिर झाँडी नै झाँडी । त्यसबेला धेरैले उहाँको कामबाट अचम्मित भए । त्यसबेला देउकुमारले ८० रोपनी जग्गा एकैचोटी लिएर जडीबुटी लगाउनुभयो । उहाँले प्रति रोपनी रु २० हजारका दरले जग्गा लिनुभयो ।

दुःखले फाडेर बीउ लगाउनुभयो । देउकुमारले चिराइतो, लौठ सल्ला, सतु्वाखेती थाल्नुभयो । यही ठाउँमा अहिले ३० हजार हेवार्ड जातको किवी लगाइएको छ भने ग्रीन किवीको पनि चारदेखि पाँच हजार बिरुवा लगाइएको छ । पछिल्लो समय त उहाँले जग्गा थपेर २०० रोपनी खरीद गरिसक्नुभयो ।

अहिले यही ठाउँमा उहाँले माइपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्म प्रालि नामको कम्पनीमार्फत काम गरिरहनुभएको छ । यसैबाट उहाँले अहिले वार्षिक रु दुई देखि तीन लाख आम्दानी पनि गरि रहनुभएको छ । अहिले देउकुमार आफैलाई पनि विगतको त्यो पाखो सम्झँदा अचम्म लाग्छ । बहुत कष्ट गरेर बारी निकालिएको यो ठाउँमा आउँदा दिनमा धेरै जडीबुटीखेती गर्ने उहाँको योजना छ ।

उहाँले यहाँ जडीबुटी मात्र होइन, पर्यटनमासमेत धेरै सम्भवना देख्नुभएको छ । ‘हाइकिङ’को विकास गर्न सक्दा धेरै फाइदा पुग्ने उहाँको भनाइ छ । यस्तै, नेपाल हर्बल उत्पादक सङ्घका अध्यक्ष (अहिले निवर्तमान) गोविन्द घिमिरे पनि जडीबुटी अनुसन्धानका क्रममा २०६९ सालमा यही ठाउँमा आउनुभयो । उहाँ अनुसन्धानका लागि केही समय बस्न मात्र यो ठाउँमा आउनुभएको थियो । तर, जडीबुटीको प्रशस्त सम्भावना देखेपछि यही कृषि कर्ममा रमाउन मन लाग्यो । तर, सम्भव थिएन ।

आफ्नो व्यक्तिगत काम छाडेर खेतीतर्फ लम्किँदा सबै काम डामाडोल हुने भयो । गएको कोरोना महामारीका बेला गोविन्दलाई पनि देउकुमारलाई जस्तै केही नयाँ काम गर्ने सोच आयो । लामो समयदेखि जडीबुटीकै क्षेत्रमा क्रियाशील भएर काम गरेकाले नयाँ सोच लिएर इलाम आउनुभयो । यहाँ आएर सोधखोज गरेपछि उहाँसहित चार जना मिलेर जग्गा पनि लिनुभयो । प्रति रोपनी रु ७० हजारमा जग्गा किनेर उहाँहरूले पनि अहिले कम्पनी दर्ता गर्नुभएको छ । अहिले उहाँहरूले झाँडी फाँडेर जडीबुटीखेती नै गर्ने योजना बनाउनुभएको छ ।

यसका लागि दुई जनालाई यही ठाउँमा खान÷बस्नसहित रोजगारी दिइएको छ । दैनिक २० देखि ३० जनाले ज्यालादारीमा रोजगारी पाएका छन् । गोविन्दले यहाँ सम्भावना भएका सात जडीबुटी प्राथमिकतामा राख्नुभएको छ । टिम्मुर, चिराइतो, लौठ सल्ला, दाँते ओखर, किवी, सुगन्धवाल, जटामसी र सतुवा लगाउने सोचमा उहाँ हुनुहुन्छ ।

तापक्रम र उचाइ मिलेकाले अन्य जडीबुटी पनि खेती हुने सम्भावना उहाँले देख्नुभएको छ । यसका लागि उहाँहरूले हालसम्ममा १२० रोपनी जग्गा किनिसक्नुभएको छ । अझै केही जग्गा किन्ने सुरसारमा उहाँहरू हुनुहुन्छ । गोविन्द र देउकुमार मात्र होइन, धेरैको आकर्षक क्षेत्र बनेको छ, माइपाताल ।

जडीबुटी, कृषि र पर्यटनका कारण यहाँ पुग्ने र जग्गा किन्नेको सङ्ख्या बढिरहेको छ । कुनै बेला लेकको जग्गा भन्दै बेचेर औल झर्नेसमेत पछिल्लो समय फर्किदै आएका छन् । दैनिक पाँच देखि सात जना जग्गा किन्नकै लागि यहाँ आउने गरेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल बताउनुहुन्छ । पाँच वर्षअघिसम्म यहाँको जग्गाप्रति रोपनी रु १० हजारका दरले किनबेच हुन्थ्यो । तर, पछिल्लो समय जडीबुटी र पर्यटन जोडिएपछि झण्डै लाख रुपैयाँ रोपनीमा जग्गा किनबेच हुन थालेको छ ।

यसका लागि गाउँपालिकाले यही क्षेत्रमा रेडपाण्डा व्यवस्थित गर्न रु ७८ लाखमा ठेक्का लगाएको छ । गाउँपालिकाले करीब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ । हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने योजनामा छ ।

यति मात्र होइन, पछिल्लो समय कोरोना प्रतिरोधात्मक क्षमता बढाउने बुझेपछि त झनै यो क्षेत्रमा जडीबुटी खेतीकै लागि जग्गा किन्न पुग्ने गरेका छन् । इलामका तल्ला क्षेत्र, झापासाथै काठमाडाँंैबाट समेत जग्गा खरीदका लागि मानिस यहाँ आउने गरेको स्थानीयवासी युवराज पिसी बताउनुहुन्छ । पहिलेदेखि नै केही मात्रामा यहाँ जडीबुटीखेती हुन्थ्यो । तर, किसानले भाउ नपाएकाले वैकल्पिकखेती गर्दै आएका थिए । स्थानीय तहमा प्रतिनिधि आएसँगै बाटो पुगेपछि किसान सचेत हुँदै गए ।

परम्परागत तवरले गरिँदै आएको खेती प्रणाली नै फेरेर काम गर्न थालेपछि यस क्षेत्रमा व्यापक रूपमा वनस्पतिखेती हुँदै आएको हो । अझैपनि स्थानीयवासीले यसबारे त्यति धेरै थाहा नपाएकाले जानकारी गराउँदै लैजानु परेको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद सेढाइँ बताउनुहुन्छ ।

जडीबुटीमा प्रोत्साहन

पछिल्लो समय यस क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला वनस्पति कार्यालयले पनि यहाँ वनस्पति उद्यान केन्द्र निर्माण गरेको छ । केन्द्रले यसै क्षेत्रबाट ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको बिरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार बिरुवा रहेका छन् ।

तीमध्येबाट एक लाख बिरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । “हामीले कम्तीमा पनि एक लाख बिरुवा वितरण गर्छौं”, केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भन्नुभयो, “हामीले करीब एक लाख पाँच हजार बिरुवाको बीउ लगाएका छौं । कीरा लागेमा वा रोग लागेर पाँच हजार जति मरेपनि एक लाख बिरुवा बाँड््ने लक्ष्यमा छौं ।”

किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, बोट टिम्मुर पाँच हजार र किवी पाँच हजार बिरुवा रहेका छन् । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवं प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका बिरुवा निःशुल्क वितरण गर्ने भएको छ ।

केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको बिरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार बिरुवा रहेका छन् । (खोजी समाचार)