२८ माघ,काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले लोकतन्त्र समाप्त पार्न चुनाव घोषणा गरेको दाबी गरेका छन् । बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले चुनाव संविधानअनुसार हुने बताएका छन् ।
उनले भनेका छन्,“हामी चुनाव चाहन्छौं, हरेक राजनीतिक दल लोकतन्त्रमा चुनाव नै चाहन्छन्,” श्रेष्ठले भने, “आदरणीय जनसमुदाय तपाईंले चाहेको कस्तो चुनाव ? संविधानअनुसारको चुनाव कि संविधान समाप्त पार्ने चुनाव ? लोकतन्त्रको रक्षा गर्ने चुनाव कि लोकतन्त्र ध्वस्त पार्ने चुनाव ?”
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् । श्रेष्ठले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि लोकतन्त्रको रक्षा गर्ने भनेर दिएको अभिव्यक्तिलाई उनले फाँसीवादको संज्ञा पनि दिएका छन् । ‘विकासको नारा दिएर संविधानलाई उपहास गरेर, संविधानको उपधारामा कालोमसी लगाएर नया तरिकाले फाँसीवादको अभ्यास गर्दैछन् । फाँसीवादको असफलता सुनिश्चित छ’ प्रवक्ता श्रेष्ठले भने ।
उनले ओलीको फाँसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक भएपनि अहिले सिंगो देश आन्दोलनमय भएको र एकीकृत आन्दोलन भइरहेको बताएका छन् । नेपाली जनताले सामाजिक आर्थिक सम्बृद्धिको अपेक्षा गरेपनि गत निर्वाचनमा जनताले जनादेश दिएर सरकार बनेपनि निरंकुश, पदलोलुप ओलीलाई पार्टी र सरकारको नेतृत्वमा पुर्याएकाले सम्बृद्धिको प्रतिवद्धता पुरा गर्न नसकेकोमा आफ्नो तर्फबाट गल्ति भएको स्वीकार गरेका छन् ।












